|  

मौसमविद्लाई नै अनौठो लाग्यो हालको मौसम ! 

१५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले अहिले माघेझरी जस्तो मौसम देख्दा आफूलाई अनौठो लागिरहेको बताएका छन् ।

उनले भनेका छन्, ‘चैतको महिनामा सामान्यतया बिहानैदेखि दिउँसोसम्म चर्को घाम लाग्ने, साँझपख हावाहुरी चल्ने र चट्याङ सहित असिना पानी पर्ने गर्छ । तर अहिले माघेझरी जस्तो मौसम देख्दा आफूलाई अनौठो लागिरहेको छ ।’ अहिले राति/राति पानी परिरहेको छ । यस्तो त मनसुनको बेलामा हुन्छ, दिनभरी माघेझरी जस्तो पनि देखिन्छ, मलाई अनौठो लागिरहेको छ ।’

मेडिटेरियन रिजनबाट नेपालसम्म आउने प्रणाली एक/दुई दिनसम्म बसेर जानुपर्नेमा अहिले लामो समयसम्म कायम छ । यसलाई विस्थापित गर्ने अर्को प्रणाली तत्काल आउने सम्भावना नदेखिएकाले आगामी शनिबारसम्मै आकाश राम्रोसँग नउघ्रिने मौसमविद् पोखरेलले बताएका छन् । 

यता, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि शनिबारसम्म बदली र वर्षाको प्रक्षेपण छ । बुलेटिनमा लेखिएअनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।

साथै आगामी २४ घण्टाका लागि परामर्श दिंदै महाशाखाले भनेको छ, ‘ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।’