|  

एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर

१५ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । जसमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलाई पनि प्रतिवादी बनाइएको छ ।

यस्तै प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक संदिप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ । विशेष अदालतमा दायर मुद्दामा उनीहरूविरूद्ध ९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।