|  

आईपीएल क्रिकेटमा मुम्मबईमाथि राजस्थान रोयल्सको शानदार जित

२० चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार ब्यहोरेको छ ।

गएराति मुम्बईको घरेलु मैदान वानखेडेमा भएको खेलमा राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हरायो । वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १२५ रन मात्र बनाएको थियो । मुम्बईको इनिङलाई धराप पार्न राजस्थानका लागि ट्रेन्ड बोल्ड र युजवेन्द्र चहाले तीन तीन विकेट हात पारे । ट्रेन्ड बोल्डले रोहित शर्मा, नमन धीर र डेवाल्स ब्रेविसको विकेट लिएका थिए ।

उनीहरू खाता खोल्न नपाउँदै शून्यमै आउट भए। नान्द्रे बर्गरले २ विकेट लिँदा आवेश खानको नाममा १ विकेट रह्यो।मुम्बईका लागि कप्तान हार्दिक पाण्डेले सर्वाधिक ३४ रन बनाए। २१ बल खेलेका उनले ६ चौका प्रहार गरे। तिलक बर्मा ३२, टिम डेविड १७ र इशान किशानले १६ रन बनाउँदा जसप्रीत बुमराह ८ र आकाश मधवाल ४ रनमा अविजत रहे ।

पाँच पटकको उपाधि बिजेता टोली मुम्बईले यो सिजनमा लगातार तेस्रो हार ब्यहोर्दा राजस्थानले लगातार तेस्रो जित निकालेको छ । उसको ३ खेलमा ६ अंक छ । राजस्थान तालिकाको शीर्ष स्थानमा छ । मुम्बई पुछारमा छ । आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु र लखनउ सुपर जायन्टस् खेल्दैछन् ।