|  

पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन गर्ने उपकरण दैलेख पुर्‍याइयाे

२० चैत, काठमाडौं । दैलेखको शिरस्थान, नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि चीनबाट ल्याइएका उपकरण दैलेख लगिएको छ ।

दैलेखको भैरवी गाउँपालिका-१, जलजलेमा उत्खननका लागि अन्तिम ड्रिलिङ सर्भेको कामका लागि चीनबाट उपकरण ल्याइएको हो । चीनदेखि कोलकाता हुँदै रुपैडिया नाकाबाट उत्खनन उपकरणसहित पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पु¥याइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।  प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार साना ट्रक सुर्खेत हुँदै दैलेख आएको र ठूला ट्रक कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग हुँदै जलजलेमा पुग्न लागेका छन् ।

यसअघि नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम गरिएको थियो । पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग २ अर्ब ४० करोड रुपियाँको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

सरकारले भैरवी गाउँपालिका-१, जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको अधिग्रहण गरिसकेपछि पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ ।