|  

आफू पार्टीको अध्यक्ष रहेको रेशम चौधरीको दाबी

२० चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू पार्टीको अध्यक्ष रहेको दाबी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग भेट गरेर निस्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो  दाबी गरेका हुन् । लाखौँ जनताबाट चुनिएर आएको अध्यक्ष आफू रहेको भन्दै रेशमले रञ्जिता श्रेष्ठ निवर्तमान अध्यक्षमात्र रहेको बताए । निर्वाचन आयोगले भन्दैमा आफू पार्टीको अध्यक्ष नरहेको भन्न नमिल्ने टिप्पणी समेत गरे ।निर्वाचन आयोगले त प्रधानमन्त्री प्रचण्ड र विप्लवलाई पनि स्वीकार गरेको थिएन तर उनीहरू पार्टी अध्यक्ष हुँदै कहाँ कहाँ पुगिसकेको भन्दै रेशमले अध्यक्षको विवाद विचाराधीन रहेका कारण फैसला नआएसम्म आफू नै अध्यक्ष रहेको दाबी गरे । उनले आफ्नो तर्फबाट रञ्जिता श्रेष्ठ पक्षका कुनै पनि नेतामाथि हातपात नभएको दाबी समेत गरे । बरु उनीहरूबाटै सुटर ल्याएर पार्टी कार्यालय घेर्ने चेतावनी दिइएको रेशमको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले फोन गरेर बोलाएपछि आफू भेट्न गएको रेशमको भनाइ छ । रेशमले बाहिर आएको हल्लाजस्तो पार्टीमा विवाद नरहेको पनि बताए । चैत २३ गते बस्ने बैठकले सबै विवाद समाधान हुने उनको दाबी छ ।