|  

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा हुनुपर्छः सांसद खतिवडा

२० चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा हुनुपर्नेमा जोड दिएका छन् ।

आज प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद खतिवडाले राजनीतिक स्थिरताका लागि समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाको व्यवस्था गर्नुपर्ने बताएका हुन् । देशमा समानुपातिक निर्वाचन प्रणाली भएसम्म कुनै राजनीतिक दलको बहुमत नआउने र सरकार समेत अस्थिर हुने गरेको उनको भनाई छ । खतिवडाले २ सय ४० वटा निर्वाचन क्षेत्र मात्रै राखेर प्रत्यक्ष निर्वाचित सांसद मात्रै बनाउनुपर्ने बताए । बरु सोही निर्वाचन क्षेत्रभित्र महिला र दलित लगायतको लागि कोटा छट्याउन सकिने उनले बताए ।

साथै, खतिवडाले प्रदेशमा पनि समानुपातिक राख्नु नहुने र राष्ट्रिय सभा भने समानुपातिक बनाउनुपर्ने बताए । प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा हुँदा कुनै एक राजनीतिक दलको बहुमत आउन सक्ने र स्थिर सरकार बनाउन सकिने खतिवडाको भनाई छ ।