|  

वर्तमान संविधान सम्झौताको दस्ताबेज मात्रै भएकाले पूर्ण छैनः प्रधानमन्त्री प्रचण्ड

२० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताएकी छन् ।

समाजवादी मोर्चाले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान सम्झौताको दस्ताबेज मात्रै भएकाले पूर्ण नरहेको बताएका हुन् । पुँजीवादी र प्रतिक्रियावादीले जित्दै गए भने यो संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको उनको भनाई छ ।

अहिले आफूले नयाँ सत्ता समीकरण बनाएको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको समेत उनले दाबी गरे । आफूले केही जोखिम मोलेर भए पनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अघि बढाउन सकिने जिकिर गरे । समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमानदार भई र नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण बनाएको उनले बताए ।