|  

खेलकुद क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनेछ : प्रधानमन्त्री प्रचण्ड

२१ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्को ६० औँ वार्षिकोत्सव समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका हुन् ।  शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने बताए । 

आफूले आफ्नो कार्यकालमा खेलकुद, साहित्य-कला र प्रविधिको क्षेत्रलाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । 

यसपटक राष्ट्रिय खेलकुद परिषद्का निम्ति राम्रो संयोग जुरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले परिषद्को संरक्षकका हैसियतले आफूले परिषद्लाई दर्बिलो साथ र सहयोग विश्वास दिलाए  ।