|  

चेतन अयडीको हत्या आरोपीमा थप ९ जनालाई कारागार पठाउन आदेश

२१ चैत, काठमाडौं । चेतन अयडीका हत्या आरोपीमध्ये थप ९ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।  गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा बाजुराका अयडीका हत्या आरोपीलाई जेल चलान गरेको हो ।

जिल्ला अदालत बाजुरामा मंगलबार सकिएको थुनछेक बहसपछि ३३ वर्षीय मोहन बहादुर अयडी, ३३ वर्षीय नर अयडी, २२ वर्षीय लोकेश अयडी, नरेश अयडी, २५ वर्षीय मङ्गल अयडी, २७ वर्षीय नवीन अयडी, २३ वर्षीय जीवन अयडी, ३२ वर्षीय उद्धव अयडी र ४५ वर्षीय पदम बहादुर अयडी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो ।

अदालतले हत्या आरोपमा संलग्न तीन जनालाई जनही धरौटीमा छोड्न आदेश दिइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । सो घटनाका ६ आरोपी यसअघिदेखिनै पुर्पक्षका लागि थुनामा रहेका छन् ।

२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नपारपालिका–७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रमा भएको बिवादलाई लिएर एक हुलले स्थानीय ३२ बर्षीय चेतनको घरमै गएर कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ ।