|  

श्रममन्त्री अर्याल र नेपालका लागि स्वीस राजदूत मेउलीबीच भेटवार्ता

२१ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि स्वीजरल्याण्डका राजदूत डा डेनियल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ।

आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा श्रममन्त्री अर्यालले आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न विकास साझेदारहरुको महत्वपूर्ण भूमिका रहेको बताए। उनले आगामी दिनमा नेपाल सरकारले न्यूनतम ज्यालामा आधारित रोजगारी सिर्जना मात्र नभई श्रम बजारको मागका आधारमा सीप विकासमा लगानी गर्ने बताए।

मन्त्री अर्यालले सीपयुक्त जनशक्तिको निर्माण गरी सक्रिय श्रम बजारको स्थापना, स्वरोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए।

भेटमा नेपालका लागि स्वीस राजदूत डा डेनियलले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालित रोजगार सेवाकेन्द्र सुदृढीकरणको बारेमा चर्चा गरिन्। स्वीस सरकार, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) तथा विश्व बैंकको सहकार्यमा सञ्चालित यो कार्यक्रम रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता विकासमा केन्द्रित छ।

उक्त भेटमा विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जवीस र एफसिडिओका प्रतिनिधि पनि सहभागी थिए। विश्व बैंकका नेपाल निर्देशक जविसले विश्व बैंकको सहयोगमा संचालित ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ (यति) को अवधि थप गर्न विश्व बैंक इच्छुक रहेको बताए।

उनले आयोजनामार्फत नेपालको आन्तरिक रोजगारी प्रवर्द्धन, सीप विकासका कार्यक्रम संचालन, राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको निर्माण र स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता विकास गरी एकीकृत श्रम रोजगार सेवालाई प्रभावकारी बनाउन विश्व बैंक प्रतिबद्ध रहेको बताए।

सन् २०२० जुन ३० देखि विश्व बैंकको सहयोगमा मन्त्रालयले ‘यति’ परियोजना सञ्चालन गर्दै आएको छ। यस परियोजनामार्फत विश्व बैंकले नेपालमा आन्तरिक रोजगारीको सिर्जना, श्रमिकको सीप विकास, श्रम बजारको नतिजामा सुधार तथा राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणाली (नेमिस) निर्माण गर्ने प्रतिबद्धता गरेको छ। आगामी ‘जुन’ महिनामा परियोजनाको अवधि सकिँदैछ।