|  

टुंगियो गगनको संवाद यात्राः कांग्रेसलाई समुदायमा फर्काएको दाबी 

०५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समुदायमा कांग्रेस अभियान अन्तर्गत थालेको संवाद यात्रा आज टुंग्याएका छन् ।

माघ १३ गते झापाको मेची पुलबाट गरेको यात्रा मङ्गलवार कञ्चनपुरस्थित महाकाली पुलमा पुगेर टुंग्याएका हुन् । यात्राको क्रममा हुलाकी राजमार्ग अन्तर्गत १४५० किमी २१ वटा जिल्ला हुँदै यात्रा गरेको महामन्त्री थापाले बताएका छन् । उनले भनेका छन्, ‘यस संवाद यात्राका क्रममा हामीले खुला संवाद, स्थानीय समस्या र सम्भावनामा केन्द्रित संवाद, सेवा प्रवाह गर्ने ठाउँको अवलोकनको कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएर स्थानीय तहमा काम गरिरहेको मान्छेसँग व्यक्तिगत कुराकानी लगायतका कार्यक्रमहरू गरी नेपाली काङ्ग्रेसलाई समुदायमा फर्काउने र पार्टी रूपान्तरणको अभियानको थालनी गरेका छौँ ।’

यो चरणको संवाद यात्राको अन्तिम दिन सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल धनगढी स्थित नैनादेवि मन्दिर दर्शनसँगै, नेपाली क्रिकेट क्षेत्रमा अतुलनीय योगदान दिइरहेको सुदूरपश्चिम र सुदूरपश्चिमको क्रिकेटका लागि विशेष योगदान र सम्भावना भएको फाप्ला क्रिकेट मैदान सुधार, स्तरोन्नति र आवश्यकता पहिचानका लागि अवलोकन गरेको उल्लेख गरेका छन् । अभियानका क्रममा थापाले पार्टी नेताहरूसँग छलफल, नेता कार्यकर्ताको सुझाव, जनताका सवाल जनतासँगै रहेर सुन्ने हाम्रो प्रयत्न र खुला संवाद, जनप्रतिनिधिसँग छलफल गरेका थिए । यात्राको सुरुआत गर्दा अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेताहरू कृष्णप्रसाद सिटौला, प्रदीप पौडेल लगायत नेताहरूका उपस्थितिमा झापाबाट यात्रा थालेका थिए ।