|  

बुबाले गर्न नसकेका र देखेका सपना पुरा गर्न कुनै कमी हुन दिन्नः सुहाङ

०५ बैशाख, काठमाडौं । नेकपा एमाले र माओवादीका तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुहाङ नेम्वाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताएका छन् ।

उनले इलाम क्षेत्र नम्बर २ अन्तर्गत इलामको मङ्गलबारेमा भएको कार्यक्रममा अहिले देश समृद्धिको बाटो हिँडेको भन्दै यो बेला सामाजिक सम्बन्ध खलल पुग्ने बाटोमा लाग्न नहुने बताए । सुहाङले इन्द्रेणी सप्त रङ्ग भएकाले राम्रो भएको भन्दै हाम्रो समाज पनि इन्द्रेणी जस्तै सुन्दर भएको बताए । उनले इन्द्रेणी जस्तो समाजलाई अझ राम्रो बनाउन सामाजिक सम्बन्ध राम्रो हुनु पर्नेमा जोड दिए । उनले सुशासनमा देखिएको समस्याले विकास निर्माणमा ढिलाइ भएकाले यो समस्या समाधान गर्न पनि सबै एक हुनु पर्ने बताए ।नेम्वाङले आफूलाई लगाएको मालामा जनताको रौनक र खुसी भए पनि आफू भने भावुक भएको बताए । इलामको विकासमा आफ्ना बुवा सुवासचन्द्र नेम्वाङले गरेको विकास स्मरण गराउँदै जनताका सामु पुग्दा उनीहरूको आँखामा आँसु पनि देखेको बताए ।

विगतका निर्वाचनमा आफ्ना बुबालाई गरेको विश्वास शिरमा राखेर आफूले सधैँ काम गर्ने बताए । उनले इलामी जनताको कामका लागि सधैँ आफ्ना बुबाले काम गरेको दाबी गर्दे आफूले पनि त्यसरी नै काम गर्ने बताए । इलामका युवाहरूको भावना नसुनिएको भन्दै्र विदेश जाने युवाहरूको समस्या कसरी छिटो छरितो तरिकाले पुरा गर्न सकिन्छ भनेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले कुनै पनि देश रातारात विकासीत नभएको दाबी गर्दै देश विकासका लागि युवाहरू एक भएर अगाडि बढ्नु पर्ने बताए । उनले आफ्ना बुवा सुभाष चन्द्र नेम्बाङ्गको पहलमा किराँत धर्मगुरु फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा भएको भन्दै आफ पनि प्रकिृती पूजक भएकाले यो क्षेत्रको विकासमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।