|  

प्रादेशिक ढाँचा परिवर्तन गरेरै छाड्छौँ : स्वर्णिम वाग्ले

६ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले शान्तिपूर्ण विद्रोहबाट नै रास्वपाले अहिलेको प्रादेशिक ढाँचालाई परिवर्तन गर्ने दाबी गरेका छन् ।

बिहीबार उपनिर्वाचनलाई लक्षित गरेर आयोजित इलाम संवाद कार्यक्रममा वाग्लेले अहिलेको व्यवस्थामाथि टेकेर रगत नबगाएर शान्तिपूर्ण विद्रोहबाटै विभिन्न क्षेत्रको सुधार गर्ने बताएका हुन् ।

उनले रास्वपाको संख्या र सामर्थ्य पुगेको दिन मुलुकको प्रादेशिक ढाँचालाई परिवर्तन गरेरै छाड्ने समेत बताए ।

वाग्लेले रास्वपालाई सहअस्तित्व र पारस्पारिक सम्मानका आधारमा सबै नेपालीहरू अटाउने पार्टी बनाएको पनि बताए । सामाजिक न्यायसहितको अर्थतन्त्रमा विश्वास गर्ने पार्टी रास्वपामात्रै भएको उनको भनाइ छ ।

त्यस्तै, उनले साक्षरता र प्रतिव्यक्ति आय राम्रो भएको जिल्लामा इलाम पर्ने भए पनि अपेक्षित फड्को मार्न नसक्नुको कारण कुशासन भएको तर्क गरे ।

राजनीतिलाई पुरै समयको पेसा, कमाइ खाने भाँडोको रुपमा मात्रै हेर्न नहुने धारणा उनले राखे । युवा मात्र होइन समावेशी अनुहार पनि चाहिन्छ भन्ने उद्देश्य लिएर इलामको उपनिर्वाचनमा पार्टीले उम्मेदवार चयन गरेको उनले बताए ।

उनले भने,‘राजनीतिलाई पुरै समयको पेसा बनाउन चाहन्न । यसलाई कमाई खाने भाँडो मात्रै बनाउन चाहन्न । यसलाई देश सेवाको रुपमा काम गर्न चाहन्छु भन्नेहरुलाई स्थान दिनेगरी रास्वपा उपलब्ध भएको छ । हाम्रो विविधतापूर्ण समाज छ । जनजाति साथिहरु पनि अँटाउनु पर्छ, महिला आदि हुनुपर्छ । इलाममा चुनाव जितिएला नजितिएला तर जनजाति समुदायमा पनि पार्टीमा हामो स्थान दिन चाहन्छौं भनेरै उम्मेदवारी दिएका छौं । एउटा युवा मात्र होइन समावेशी अनुहार लिएर हामी त्यहाँ गएका हौं ।’