|  

जहाजभित्र बेवारिसे अवस्थामा भेटियो एक किलो सुन

६ बैशाख, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाजको सिट पछाडीको पकेटभित्र बेवारिसे अवस्थामा १ किलो सुन फेला परेको छ।

भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरको सिट पकेटमा उक्त सुन फेला परेको हो।

बुधवार बिहान जहाज अवतरणपछि पार्किङ भएको जहाजमा १ किलो ७० ग्राम सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए। उनका अनुसार सुन ल्याउने व्यक्तिको पहिचान भएको छैन। 

जहाजको सिट नम्बर २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन फेला परेको शर्माले बताए। 

प्रहरीका अनुसार सिक्री ३ थान, सुनको बिस्कुट ६ थान, त्रिभुज आकारका सुनका टुक्राहरु २ थान र सिक्री जोड्ने ससाना रिङ २ थान फेला परेको हो।