|  

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

८ बैशाख, काठमाडौं । सत्तारूढ दल (नेकपा) एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ ।

तीनदिनसम्म चल्ने उक्त बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा बस्ने छ ।यस बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन् ।  बैठकमा ६ वटा दस्तावेज प्रस्तुत हुनेछन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै अनुशासन, लेखा, निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले  पनि छुट्टाछुट्टै दस्तावेज प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट चिवाभज्याङ यात्राको समीक्षा हुने बताइएको छ  । यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने छ । एमालेको प्रतिनिधि परिषद् बैठक डिजिटल हुने बताइएको छ।

मोबाइल एपमा दस्तावेजहरू राखिने र त्यहीँबाट छलफल गर्न सकिने व्यवस्था मिलाइएको स्रोतले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत अन्य पार्टीका शीर्ष नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।