|  

क्रिकेटका ‘टाइगर’ ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा बिक्री

०९ बैशाख, काठमाडाैं । नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको छ ।

अमेरिकास्थित नेपाली संघसस्थाबाट आयोजना गरिएकाे अक्सनमा दीपेन्द्र सिंह ऐरीको जर्सी सबैभन्दा बढी मूल्यमा विक्री भएको हो । दीपेन्द्रको जर्सीमा क्रिस्टल कडेलले १ हजार ५० डलरको बोली लगाएका छन् । दायाँ हाते ब्याटर र दायाँ हाते स्पीनर ऐरी फिल्डिङमा पनि झन चुस्त छन् ।

उनी नेपाली क्रिकेटका सबैभन्दा भरपर्दा खेलाडीका रूपमा उदाएका युवा खेलाडी मानिन्छन् । २०७४ सालको यु-१९ एशिया कपमा कप्तान सन्दिप लामिछानेलाई हटाई दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारी दिइयो । कप्तानीको जिम्मेवारी के पाएका थिए, ऐरीले आफ्नो क्षमता प्रस्तुत गरिहाले । मलेशियामा भएको प्रतियोगितामा नेपालले इतिहासमा पहिलो पटक भारतलाई पराजित गरेर सनसनी मच्चायो, त्यो पनि ऐरीकै अलराउण्ड प्रदर्शनमा । त्यसमा ऐरीले ब्याटिङमा ८८ रन बनाएका थिए भने बलिङमा चार विकेट लिएका थिए । यसअघि नेपाली क्रिकेटले कुनै पनि क्रिकेटमा भारतलाई हराउन सकेको थिएन । नेपालको सो जितको खुबै प्रशंसा हुनुका साथै कप्तान ऐरी पनि चर्चामा आए ।

उमेर समूहको क्रिकेटमा प्रभाव जमाएका ऐरीले सन २०१७ मा आईसीसी विश्वकप लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । सो प्रतियोगितामा कप्तान पारस खड्काको शल्यक्रिया गरेकाले उनको स्थानमा मध्यक्रमको भरपर्दो खेलाडीको खोजी भयो । अनि ऐरीले मौका पाएका थिए । खड्काको स्थानमा चौथो नम्बरमा ब्याटिङ गर्न पाएको अवसरलाई सदुपयोग गर्न ऐरी चुकेनन । त्यसअघि कप्तान खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरले मात्र नेपालको मध्यक्रम सम्हाल्दै आएका थिए ।

ऐरी पहिलो खेलमा १९ रनमा आउट भए तर दोस्रो खेलमा उनले ६२ रन बनाउँदै नेपाललाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेले । प्रतियोगिता सकिएसँगै उनले आफूलाई राष्ट्रिय टोलीको भविष्यका भरपर्दा मध्यक्रमका खेलाडीका रूपमा उभ्याइसकेका थिए । भन्नै परेन, त्यसपछि ऐरीले अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन । अहिले क्रिकेट यात्रामा उनी राष्ट्रिय टोलीका नियमित र प्रभावकारी सदस्य बन्दै आएका छन । उनको नाममा धेरै कीर्तिमानहरू पनि लेखिएका छन् । टी-२० अन्तर्राष्ट्रियमा उनी एक हजार रन बटुल्ने पहिलो नेपाली खेलाडी बने । टी-२० र एकदिवसिय दुवै प्रतिस्पर्धामा शतक प्रहार गर्ने पारस खड्का पछि उनी दोस्रो खेलाडी बने । साथसाथै उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी-२० अलराउण्डरको सूचीमा उत्कृष्ट १० खेलाडीभित्र पर्छन । आइसीसीको कुनै पनि विधाको उत्कृष्ट १० मा पर्ने ऐरी पहिलो नेपाली खेलाडी हुन । त्यस्तै हालै अप्रिल १३ मा ओमानमा भएको एसीसी प्रिमियर कपमा उनले नयाँ कीर्तिमान बनाए । ऐरी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बने । उनको यो कीर्तिमान अब अर्को खेलाडीले बराबरीसम्म गर्न सक्छन तर तोड्न भने सक्दैनन । त्यसैले ऐरी नेपाली क्रिकेटमा ‘टाइगर’ उपनामले चर्चित छन ।