|  

काँग्रेस भ्रष्टाचारको मुद्दामा कठोर भएर प्रस्तुत हुन्छ : डा. शेखर कोइराला

११ बैशाख, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेस भ्रष्टाचारको मुद्दामा कठोर भएर प्रस्तुत हुने बताएका छन्।

इलामको चुनावी सभालाई सम्बोधन गर्दै पुराना कुराहरूलाई आत्मसाथ गर्दै कुनै किसिमको भ्रष्टाचार र कुशासन हुन नदिने बताए।

‘हामी यी विषयहरूमा कठोर निर्णय लिएर अगाडि बढ्दैछौं’ उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणको प्रसङ्गमा भने, ‘देशभरका जनताले बोलिरहेका छन्, सजाय दिनुस् भनेर। त्यही भएर हामीले संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुस् भनेका हौँ। छानबिन समिति नबनाएसम्म संसद् चल्न दिँदैनौँ।’

उनले भ्रष्टाचार र सुशासन अब काँग्रेसको अहम् मुद्दा बनाएको उल्लेख गर्दै कसैले रोक्न नसक्ने बताए।

उनले पहिचानको मुद्दा सबैभन्दा पहिला उठाउने पार्टी काँग्रेस भएकाले आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन आग्रह गरे।

उनले भने, ‘पहिचानको मुद्दालाई सबैभन्दा पहिला काँग्रेसले उठाएको हो। पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा काँग्रेस सधैँ अगाडि छ। पहिचानवादी उम्मेदवारलाई पनि आग्रह गर्छु काँग्रेसलाई सघाएर पहिचानको मुद्दालाई अगाडि बढाउन मद्दत गर्नुस्। पहिचानको मुद्दा काँग्रेसको मुद्दा हो।’