|  

विनाशकारी भूकम्पको ९ वर्ष पुरा !

१२ बैशाख,काठमाडौं । वैशाख १२ को विनाशकारी भूकम्प गएको आज ९ वर्ष भएको छ ।

२०७२ साल वैशाख १२ गते मध्यान्न ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्प गएको ९ वर्ष बितिसक्दा पनि अझै ९२ हजार परिवारका घर पुनर्निर्माण हुन सकेको छैन ।

महाभूकम्पको पुनर्निर्माणमा पौने चार खर्ब सकिएको छ  । त्यति धेरै रकम खर्च भएपनि अझै कतिपय पुरातात्विक संरचना पनि अधुरै छन् । पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत विघटन भइसकेको छ । भूकम्प गएको सम्झनामा खानी तथा भूगर्भविभागले आज बृहत् फोटो प्रदर्शनीको आयोजना गरेको छ । भूकम्प जाँदा आठ हजार ९ सय ७० जनाको मृत्यु भएको थियो ।

२२ हजार भन्दा घाइते भएका थिए । पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए । दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो । भूकम्पबाट ३२ जिल्लामा क्षति पुगे पनि गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति भएको थियो।