|  

लुम्बिनीका विना विभागीय मन्त्रीलाई ताेकियाे जिम्मेवारी

१२ बैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका ७ जना विना विभागीय मन्त्रीलाई जिम्मेवारी तोकिएको छ ।

शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । चारैजना मन्त्री नेकपा एमालेबाट मन्त्री बनेका हुन ।

यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ । चौधरी नागरिक उन्मुक्तिपार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीकी हुन । यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाइसकेका थिए ।

यस्तै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरले भने राजीनामा दिएका छन् ।  जसपाले दुई वटा मन्त्रालय दिने लिखित सहमति पालना नगरी एउटा मन्त्रालय मात्रै दिएको भन्दै असन्तुष्टि जनाएर अहिरलाई राजीनामा गराएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जोखबहादुर महराले राखेका छन । माओवादी संसदीय दलका नेता जोखबहादुर महरा एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा, एकीकृत समाजवादी गरी पाँच राजनीतिक दलका ४७ र स्वतन्त्र सांसद एकजना गरी ४८ प्रदेश सभा सदस्यको समर्थनमा चैत २३ गते मुख्यमन्त्री बनेका थिए ।