|  

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

१३ बैशाख, काठमाडौं ।  चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार प्रदान गर्न आवेदन मागेको छ । बोर्डले सूचना प्रकाशित भएको मिति बैशाख १२ गतेदेखि २१ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

बोर्डले राष्ट्रिय चलचित्र पुरस्कारका लागि गत वर्ष २०८० वैशाख १ गतेदेखि २०८० चैत्र मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूको लागि आवेदन दिन सकिने जनाएको छ । साथै विशेष चलचित्रका लागि गत वर्ष २०८० वैशाख १ गतेदेखि चैत्र मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रहरूको लागि आवेदन दिन सकिने छ ।

त्यस्तै आदिवासी, जनजाति तथा मातृभाषी चलचित्रका लागि २०८० वैशाख १ गते देखि चैत्र मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रहरू राष्ट्रिय चलचित्र तथा विशेष चलचित्र पुरस्कारमा सहभागी हुन सक्नेछन् । तर, आदिवासी जनजाति तथा मातृभाषाका चलचित्रहरु विधागत रुपमा राष्ट्रिय चलचित्र पुरस्कार वा आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कार मध्ये कुनै एकमा मात्र सहभागिता जनाउन पाउनेछन् । विधागत रुपमा सहभागी हुने चलचित्र सार्वजनिक प्रदर्शन भएको हुनुपर्ने बोर्डले जनाएको छ ।

साथै आवेदनसँग सम्बन्धित चलचित्र निर्माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित सम्बन्धित निर्माता वा निजले अधिकार दिएको व्यक्ति आफै उपस्थित भई वा ई-मेल ठेगाना मार्फत आवेदन दिन आग्रह गरको छ ।