|  

कर्णाली सरकारले सम्भवत् भोलिसम्म पूर्णता पाउने

१३ बैशाख, काठमाडौं । कर्णाली प्रदेशमा मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै मन्त्रिपरिषद् विस्तारको तयारी थालिएको छ ।

मंगलबार मन्त्रालयको भागबन्डाको टुंगो लगाएसँगै नेताहरू मन्त्री छनौटको तयारीमा जुटेका हुन । बुधबार माओवादीका प्रमुख सचेतक रणसिंह परियार नियुक्त भइसकेका छन् । उनलाई मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी छ । कर्णालीमा नेकपा माओवादी केन्द्रको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय परेको छ । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय एमालेको भागमा परेको छ । चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका यामलाल कँडेलले १७ दिनपछि आज विश्वासको मत लिँदै छन् ।

एमालेको मन्त्री छान्ने जिम्मेवारी कँडेललाई दिएको छ भने माओवादीले पनि दलका नेता तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई दिएको छ । नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईंले नयाँ मन्त्रीबारे छलफल भइरहेको बताए । माओवादीका संसदीय दलका नेता शर्माले पनि अब मन्त्रीको नाम छिट्टै टुंगिने बताए ।