|  

ओलीको नारामा प्रधानमन्त्री प्रचण्ड

१३ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको आर्थिक विकास र योजनाका लागि सबै दलहरूबीचको धारणा एउटै हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै राजनीतिक दल र निजी क्षेत्रको बीचमा अझ गम्भीर छलफल गरेरमात्रै नीति कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने कोसिस सरकारले गरिरहेको बताए । आफूहरूको प्रमुख लक्ष्य सुखी नेपाली, समृद्ध नेपाल नै रहेको पनि प्रधानमन्त्रीको भनाइ छ । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए । दोस्रोपटक २०७४ साल फागुन ३ गते सत्ताको बागडोर सम्हाल्दै गर्दा उनले ‘समृद्ध नेपालः सुखी नेपाली’ को मूल नारा अघि सारेका थिए । प्रचण्डले पनि अहिले त्यसैलाई जोड दिँदै आएका छन् ।

साथै, प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनलाई लक्षित गरेर सरकारले सिफारिस गरेको अध्यादेश आज राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गरे ।