|  

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

१४ बैशाख, काठमाडौं ।  गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बिहिबार राती गुल्मीदरवार गाउँपालिका–३ म्यालपोखरी स्थित तम्घास रिडी सडक खण्डमा लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा गुल्मीदरवार गाउँपालिका–३ राजाका २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

मृतक घर्तीको टाउकोमा चोट, कान र नाकबाट रगत बगेको अवस्थामा उद्दार गरेर गुल्मी अस्पताल तम्घासमा ल्याइएको थियो । उपचारको क्रममा मृत्यु भएपछि उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । त्यस्तै दुर्घटनामा गुल्मीदरवार गाउँपालिका–४ भट्टेचौरका ३१ वर्षका यम बहादुर सुर्यवंशी घाइते भएका छन् । उनको बाँया खुट्टामा चोट लागेकाले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।