|  

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

१४ बैशाख, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

गुणस्तरहीन चाउचाउ भेटिएपछि कृषि तथा पशुपंक्षी विभागले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गराएको हो । विभागले सात दिनभित्र जरिवाना बुझाउन निर्देशन दिएको हो । गुणस्तर परीक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु धेरै रहेको पाइएपछि जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।

तेलको गुणस्तर नभएका कारण चाउचाउमा एसिड भ्यालु धेरै भएको पाइएको हो । काठमाण्डौ महानगरको वडा ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेर परीक्षण गरिएको थियो ।गएको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम बिक्री मूल्य २० रुपैयाँ पर्ने ती चाउचाउ प्रयोगशालामा परीक्षणपछि न्यून गुणस्तरको प्रमाणित भएको महानगरपालिकाले जनाएको छ ।

नमुनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ वैशाखमा प्रयोगशालामा दिइएको नमुनाको रिपोर्ट ११ वैशाखमा प्राप्त भएको हो । रिपोर्ट प्राप्त भएपछि कम्पनीलाई जरिवाना तोकिएको हो ।