|  

नेपाल र चीनबीच दुईटा सम्झौतामा हस्ताक्षर 

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच दुईटा सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा बिहीबार अर्थमन्त्री वर्षमान पुनसहित आयोजित एक समारोहबीच अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे ।

अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको अर्थमन्त्री पुनको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

सम्झौताअनुसार चीनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ ।