|  

कक्षा १० मा अध्ययनरत दुई विद्यार्थीले बनाए विद्युतीय गाडी

१४ बैशाख, काठमाडौं । धादिङमा कक्षा १० मा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका-१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् । दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको बताइएको छ । केही किनेर र केही स्थानीयरुपमा प्राप्त सामग्री  प्रयोग गरेर गाडी तयार गरिएको हो ।

गाडीको क्षमता चालकसहित तीन जना अट्ने रहेको छ । दुई सय ५० वाटको दुई मोटर र १२ भोल्टको दुई ब्याट्री जडान गरिएको सो गाडीलाई एक पटक चार्ज गरेपछि तेर्सो बाटोमा दुई घण्टासम्म गुडाउन सकिन्छ । जति बढी भोल्टको ब्याट्री जडान गर्यो‍‍ त्यति नै बढी भार बोक्न सकिने निर्माणमा संलग्न विद्यार्थीको भनाइ छ ।