|  

सहकारी प्रकरणमा धरौटी बुझाएर रिहा भए दीपेश

१४ बैशाख, काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका नेकपा मा‌ओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन धरौटी बुझाएर रिहा भएका छन् । 

रिहा गर्न आदेश दिएको एक हप्तापछि आज पुन धरौटीमा रकम जम्मा गरेर रिहा भएका हुन् । 

वैशाख ७ गते शुक्रबार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पाँच जना सोही दिन छुटेका थिए । पुन भने आज रकम जम्मा गरेर कारागारबाट निस्किएका हुन् । 

सहकारी प्रकरणमा छुटे पनि पुनमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा उनीमाथि छानबिन गर्ने भएको छ ।

धरौटी बुझाउँदै तारेखमा रिहा भएका उनलाई उपयुक्त समयमा बयानका लागि बोलाउने तयारी भइरहेको सीआईबीले जनाएको छ ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले पुनमाथि सुन तस्करी प्रकरणमा पनि अनुसन्धान भइरहेकाले उचित समयमा बयानका लागि बोलाउने जानकारी दिए ।

‘अहिले उनलाई पक्राउ गरिएको छैन, हामी अनुसन्धानको चरणमा छौँ’, उनले खबरहबसँग भने, ‘अनुसन्धानका क्रममा उचित समयमा झिकाएर बयान लिन्छौँ, सोधपुछ हुनेछ ।’