|  

एनपी साउदको सुझावः ठुला दल मिलेर सरकारमा जान उचित हुँदैन

१५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन् ।

आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले प्रमुख राजनीतिक दलहरूले सत्ताकै लागि सरकार गठन गर्न नहुने धारणा राखेका हुन । उनले भनेका छन,‘प्रशासनिक सत्ता साझेदारी वा सहजताका लागि मात्रै प्रमुख राजनीतिक दल मिलेर सरकार बन्न सक्दैन । सत्ता साझेदारी जनाउने कुराका लागि मात्रै प्रमुख राजनीतिक पार्टी नै सरकारमा जाने क्रम मुलुकमा चल्यो भने जनताको नजरमा लोकतन्त्रको मूल्य घट्न सक्छ ।’

विचार, सिद्धान्त र दृष्टिकोणलाई एकातिर राखेर सरकार गठन गर्नेतर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने उनले बताए । कांग्रेसले जनस्तर र संसदीय मोर्चा दुवैमा प्रभावकारी ढङ्गले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने साउदको भनाइ थियो ।