|  

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनः धेरैले निमन्त्रणाको कुनै रिप्लाइ नै दिएनन 

१५ बैशाख, काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनका लागि निमन्त्रणा पठाएकामध्ये थोरैमात्र धनाढ्यले प्रतिक्रिया जनाएका छन् ।

धेरै धनाढ्यहरुले कुनै प्रतिक्रिया नदिएको लगानी बोर्डले बताएको छ । बोर्डले अलिबाबाका संस्थापक ज्याक मा, भारतीय धनाढ्यहरु गौतम अडानी र मुकेश आम्बानी, विश्वका दोस्रो धनाढ्य एलन मक्स, फेसबुकका संस्थापक मार्क जुकर बर्ग, अमेजोनका मालिक जेफ बेजोस र माइक्रोसफ्टका मालिक बिल गेट्सलगायत विश्वका ठूला धनाढ्यलाई निमन्त्रणा पठाएको थियो । यीमध्ये धेरैले निमन्त्रणाको कुनै रिप्लाइ नै दिएका छैनन् । अलिबाबाका संस्थापक ज्याक मा र अमेजोनका मालिक जेफ बेजोसले डिक्लाइन अर्थात नआउने जानकारी गराएको बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले जानकारी दिए ।

सरकारले बैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछ । काठमाडौंको सोल्टी होटलमा हुने लगानी सम्मेलनमा सहभागी हुन सरकारले विश्वभरका २ हजार ४०० भन्दा धेरैलाई निमन्त्रणा पठाएको थियो । जसमा १ हजार ६०० भन्दा धेरैले आउने भनेर कन्फर्म गरेका छन । लगानी सम्मलेनका लागि विभिन्न ५५ देशबाट सहभागिता रहने बोर्डले बताएको छ ।

सम्मेलनमा नेपालबाट ३८५, चीनबाट २६५, भारतबाट १४३, अमेरिकाबाट ३३, जापानबाट २८, बेलायतबाट १४, बंगलादेश र यूएईबाट १३÷१३ तथा जर्मनीबाट १० जना सहभागी हुँदैछन् । बाँकी ४२ वटा देशबाट १ देखि ९ जनासम्मले भाग लिने बोर्डले बताएको छ ।