|  

ओलीको अहंकारले सीमा नाघेपछि तत्कालिन नेकपा जोगाउन सकिएनः माधव नेपाल

१५ बैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले सीमा नाघेपछि तत्कालिन नेकपा जोगाउन नसकेको बताएका छन ।

पार्टीको मकवानपुर जिल्ला अधिवेशन ०७४ मा इतिहासमा कहिलेकहिले मात्रै पाउने अवसर पाउँदा पनि नेतृत्वकै कारणले प्रयास असफल भएको दाबी गरे । उनले भनेका छन्, ‘२०७४ सालमा हामीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी, झण्डै बहुमत ल्याउने अवस्थामा थियो, एमाले र माओवादीको एकता भइसकेपछि झण्डै दुई तिहाइको बहुमतको अवस्थामा पुग्यो । त्यो अवस्थामा संविधान बदलिन सकिन्थ्यो । कानून जस्तो पनि बनाउन सकिन्थ्यो । राज्यको सबै संरचनामा आमूल परिवर्तन गर्न सकिन्थ्यो । ठूला परिवर्तन गरेर जनतालाई सुखी जीवन उपलब्ध गराउन सकिन्थ्यो । विकासको नयाँ लहर ल्याउन सकिन्थ्यो ।’

उनले ओलीलाई लक्षित गर्दै भने, जब नेतृत्वमा अहंकार हावी भयो । नेतृत्वले पार्टीको सिद्धान्त, राज्यको संविधान र आफूलाई सर्वेसर्वा ठान्छ, अहंकारी बन्न पुग्छ विनम्र होइन । अहंकारी जब हुन पुग्छ त्यसपछि सबै सीमा नाध्छ, पार्टीको विधान मान्दैन, बैठक अस्वीकार गर्छ । छलफललाई वास्ता गर्दैन ।

उनले ओलीले पार्टीको विधान, सिद्धान्त र संविधान मिचेकै कारणले अहिलेसम्म सिंगो आन्दोलनले धक्का खाइरहेको बताए । उनले अहिले पनि आफूहरुको काँधमा लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी रहेको बताए ।