|  

दक्षिण कोरिया सरकारले विदेशी कामदारका लागि १३ महिना भिसा थप गर्ने

५ फागुन, सउल । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आइ काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत कोरियामा रहेका अन्य विदेशी कामदारको प्रवेशाज्ञा १३ महिनाका लागि थप गर्ने भएको छ।

विशेषगरी कोभिड–१९ का कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्किने अवस्था नभएका कामदारलाई प्रवेशाज्ञा थप गरी अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने न्याय मन्त्रालयलले जनाएको हो।

प्रवेशाज्ञा थप हुनेमा एफ–१ (भ्रमण तथा पारिवारिक भिसा), एफ–३ (डिपेन्डेन्ट भिसा), एच–२ (भ्रमण तथा काम गर्ने भिसा), ई–९ (रोजगार अनुमति भिसा) आदि पर्नेछन् यो नियम यही मार्च २ देखि लागू हुने बताइएको छ। यो प्रक्रियामार्फत निवेदन दिने कामदारको सन् २०२२ को मार्च ३१ सम्म १३ महिनाका लागि अस्थायी प्रवेशाज्ञा थप हुनेछ।

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरी कोरिया काम गर्न जानको लागि रोजगारदाताको र छनोटमा पर्न योग्य १६ देशको प्रवासी श्रमिकलाई रोस्टरमा राखिन्छ र दुई वर्षसम्म पनि उनीहरू छनोटमा नपरे स्वतः रद्द हुन्छन्।

कोरिया सरकारले कोरोना महामारीका कारण दुई वर्षको अवधिभित्र श्रम सम्झौता पत्र नआएर २०२० नोभेम्बेर १ देखि रोस्टर अवधि सकिएकालाई पुनः ६ महिना अवधि थप गरेको हो ।