|  

राजनीतिक नेतृत्वले मुलुकको विकास गर्न जोखिम मोल्नुपर्छः अर्थमन्त्री पुन

२० बैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक विकासका लागि राजनीतिक नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । बुधबार उनले साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग सुझाव लिएका छन् । त्यसक्रममा उनले निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर भएको पनि बताए । उनले अर्थतन्त्र सुधारका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्र, प्रशासन संयन्त्र र अर्थ क्षेत्रका विज्ञहरु क्रियाशील र चिन्तित भएको समेत बताएका छन् ।

अर्थमन्त्री पुनले सरकारको वित्तीय नीति र राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा तालमेल मिलाएर काम गर्नुपर्ने उल्लेख गरे । अर्थतन्त्रमा संकट हुँदा गरिएका कडाइहरुमा विस्तारै खुकुलो जानुपर्ने भन्दै मन्त्री पुनले त्यसबारे राष्ट्रबैंकसँग छलफल भइरहेको जानकारी पनि दिए । राजनीतिक र प्रशासनिक नेतृवले कामका लागि आँट गर्नुपर्ने र त्यसमा समाजका अरु पक्षले साथ दिनुपर्ने उनले बताए । छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाएका थिए ।