|  

बालेनप्रति ओलीको कटाक्षः कहीँ हेप्ने मानिस नभेटेपछि सुकुम्बासीलाई हेप्ने ?

२० बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन् ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रमा सुकुम्वासीमाथि जथाभाबी गर्न नमिल्ने उल्लेख गर्दै उनीहरूलाई आवासको व्यवस्था गर्न काठमाडौं महानगरपालिकालाई सुझाव दिएका हुन् । काठमाडौं महानगरपालिकाले लालपूर्जा नभएको भन्दै सुकुम्वासी वस्तिहरू डोजर लगाएर हटाउने कामलाई मेयर बालेन्द्र शाहले निरन्तरता दिइरहेका बेला ओलीले सो बस्तीमा भत्काउने अभियान नभई निर्माणको अभियान शुरु गर्नुपर्ने बताए ।

उनले मेयर शाहलाई सुकुम्वासीमाथि ज्यादती नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरूलाई हेप्ने ? भनी प्रश्न पनि गरे । सुकुम्वासीहरूको समस्या समाधानतर्फ तीन तहकै सरकार लाग्नुपर्ने ओलीको भनाई थियो । उनले आफूले सरकारसँग सो समस्या समाधानका लागि गम्भीरतापूर्वक छलफल गरिरहेको पनि बताए ।

अध्यक्ष ओलीले सुकुम्वासीमाथि ज्यादती नगर्न पनि पटक पटक आग्रह गरे । त्यस अवसरमा उनले सुकुम्वासी समस्या समाधानमा आफूले सरकारमा रहँदा काम गरे पनि हटेपछि अघि बढ्न नसकेको जिकिर पनि गरे ।