|  

मधेसमा आगलागीबाट ४६ करोडको धनसम्पत्ति जलेर नष्ट 

२२ बैशाख, काठमाडौं । विगत १० महिनाको अवधिमा मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा आगलागीबाट ४६ करोड रूपैयाँभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालयले हालसम्म सङ्कलन गरेको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठवटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ। धनुषामा रु आठ करोड ४९ लाख, महोत्तरीमा चार करोड १४ लाख, सर्लाहीमा चार करोड ४१ लाख, सप्तरीमा पाँच करोड ४१ लाख, सिरहामा आठ करोड ४९ लाख, रौतहटमा रु चार करोड ९८ लाख, बारामा चार करोड १७ लाख र पर्सामा पाँच करोड ७२ लाख मूल्य बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको बताइएको छ।

सिरहामा सबैभन्दा बढी तथा सर्लाहीमा सबैभन्दा कम आगलागीका घटना भएका छन्। सो अवधिमा सिरहामा दुई सय १६ तथा सर्लाहीमा १०६ आगलागीका घटना भएको छ । यसैगरी सप्तरीमा एक सय ७२, धनुषामा एक सय ४५, महोत्तरीमा एक सय ३०, रौतहटमा एक सय ८३, बारामा एक सय २१ तथा पर्सामा एक सय २८ आगलागीका घटना भएको विवरणमा उल्लेख गरिएको छ।