|  

इलामको उपनिर्वाचनमा पपुलिजम स्वीकार्य छैन भन्ने सन्देश जनताले दिएः महासचिव पोखरेल

२२ बैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमका आधारमा विचारको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प खोज्ने प्रयास इलाममा असफल भएको बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले पपुलिजम कि विचार भन्ने परीक्षण गर्नुपर्ने अवस्थामा इलाममा भएको उपनिर्वाचनमा पपुलिजम स्वीकार्य छैन भन्ने सन्देश जनताले दिएको बताए । उनले कोशी प्रदेशको नामाकरणविरुद्ध एमालेलाई नियोजितरूपमा कमजोर पार्नका लागि आन्दोलन चलाइएको अवस्थामा जातिवाद स्वीकार्य छैन भन्ने सन्देश पनि उपनिर्वाचनले दिएको बताए । महासचिव पोखरेलले एमालेको नेतृत्वमा सरकार बन्दा नेपाल एउटा विश्वको नमूना राष्ट्रका रूपमा पुर्‍याउन सफल भए पनि षड्यन्त्रपूर्व विस्थापित गर्दा मुलुक अफ्ठ्यारो अवस्थामा पुगेको बताए ।

मुलुकको अफ्ठ्यारो अवस्थामा लामो समय गयो भने सम्हालन नसक्ने अवस्थामा पुग्नसक्ने भएकाले एमालेको पहलमा नयाँ सत्ता समीकरण बनाइएको उनले बताए । उनले वर्तमान सत्ता समीकरणले देशलाई तत्काल नै चमत्कार दिने नभएर मुलुकको ओरालो यात्रालाइ रोकेर अघि बढाउनसक्ने मान्यताका साथ सरकारमा सहभागी भएको जिकिर गरे । महासचिव पोखरेलले कतिपयले पार्टी एकताका नाममा फेरी टाउको जोड्ने कुरा गरेको भन्दै अहिले टाउको नभई कायकर्ताको मन जोड्न जरुरी रहेको धारणा राखे ।