|  

सुदूरपश्चिममा विश्वासको मतका लागि हतार नगर्न ओलीको निर्देशन 

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिनलाई नहतारिन निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई  यस्तो निर्देशन दिएका हुन् । 
नेता रावलले शनिबार राति अध्यक्ष ओलीसँग करिब २ घण्टा गरेको भेटवार्तामा ओलीले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष ओलीसँग रावलसँगै प्रमुख सचेतक सुरेन्द्र पालले बालकोटमा भेटवार्ता गरेका थिए ।

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमाले सकारात्मक नभएपछि शनिबारलाई समय सारिएको थियो । तर शनिबार पनि प्रदेश सभा बैठक बस्न नसकेर अनिश्चित कालका लागि स्थगित भयो । शनिबार नै नेता रावल र पाल पनि अध्यक्ष ओली भेट्न काठमाडौँ आएका थिए ।