|  

सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा भारतको आपत्ति !

२३ बैशाख, काठमाडौं ।  नेपाल सरकारले सय रुपैयाँको नेपाली नोटमा नयाँ चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेपछि भारतीय विदेशमन्त्री एस जयशंकरले विरोध जनाएका छन् ।

उनले यस विषयमा नयाँ दिल्लीको ‘पोजिसन’ स्पष्ट रहेको र नेपालले एकतर्फी निर्णय गरेको जिकिर गरेका हुन् ।विदेशमन्त्री जयशंकरले सीमा विवादबारे दुई देशबिच छलफल जारी रहँदा नेपालले गरेको एकतर्फी निर्णयले वास्तविकता परिवर्तन नहुने पनि स्पष्ट पारे । ‘मैले रिपोर्ट हेरेँ । मैले विस्तारमा त हेर्न पाएको छैन, तर यस विषयमा हाम्रो पोजिसन स्पष्ट छ । स्थापित मञ्चहरू मार्फत हामीले नेपालसँग सीमा विवादका विषयमा छलफल गरिरहेका थियौँ ।

यहीबिचमा नेपालले एकतर्फीरुपमा केही निर्णय गरेको छ,’ उनले भने, ‘अर्कोतर्फ गरिएको निर्णयले उनीहरूले हामीबिचको अवस्था र जमिनी वास्तविकता परिवर्तन गर्न सक्दैनन् ।’नेपालले सन् २०२० मा मे महिनाको सुरुवातमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समावेश गरेको नयाँ नक्सा प्रकाशित गरेको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको १ सय रुपैयाँको नोटमा चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो । यसअघि भारतले सन् २०१९ को नक्सामा ती क्षेत्रहरूलाई समावेश गरेको थियो ।