|  

सहकारी समस्याले घरजग्गा व्यवसाय अझै सुध्रन सकेन

२३ बैशाख, काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरू सकारात्मक बनेर बजारमा चहलपहलसमेत बढ्न लागेपनि घरजग्गा कारोबारमा अझै सुधार आउन सकेको छैन ।

आर्थिक शिथिलताले समस्यामा परेको घरजग्गा व्यवसाय अझै पनि सुध्रन नसकेको हो । भूमि व्यवस्था तथा अभिलेख विभागको किनबेच तथ्याङ्क र बैंकबाट घरजग्गा व्यवसायका लागि हुने ऋण प्रवाहको अवस्थाले घरजग्गा व्यवसाय नसुध्रेको देखाएको हो । झन्डै साढे तीन खर्ब रुपैयाँ कुल पुँजी रहेको घरजग्गा व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट कुल ऋणको चार प्रतिशत हाराहारीमा लगानी हुँदै आएको छ । गएको वर्षभन्दा केही बढेको देखिए पनि सुधार भइनसकेको वित्तीय प्रतिवेदनले देखाएको छ ।

यसैवीच, भूमि व्यवस्था तथा अभिलेख विभागका प्रवक्ता एवम निर्देशक वेदप्रसाद अर्यालले भू–उपयोग नियमावली संशोधन भएर कित्ताकाटमा सहजता हुँदासमेत कारोबार नबढेको बताए । वर्षमा ६८ अर्ब रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन हुने गरेकोमा अहिले आधा पनि नभएको उनको भनाई छ । सहकारीमा आएको समस्याका कारण पनि घरजग्गा कारोबारमा सुधार नभएको व्यवसायीहरूले बताएका छन् ।