|  

राष्ट्रपति पौडेल र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

२३ बैशाख, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । 

आइतबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा गम्भीर हुन आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रूपमा रहेको उल्लेख गर्दै नेपाल र जापानबीच आगामी दिनहरूमा आर्थिक सहयोग लगायत अन्य सहकार्यका क्षेत्रहरू थप विस्तार हुने कुरामा विश्वास व्यक्त गरेका थिए  ।

सो अवसरमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताएकी थिइन् । 

आजै नेपालको एकदिने भ्रमणमा आयेको विदेशमन्त्री योको आजै राती नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नेछिन् ।