|  

कोशी खेलुकद विकास बोर्डका सदस्यलाई मुख्यमन्त्रीले सोधे स्पष्टीकरण

२४ वैशाख, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
बस्नेतलाई मुख्यमन्त्री कार्कीले यही वैशाख २३ गते स्पष्टीकरण सोधेका हुन । २०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा सहभागी भई निर्वाचन खर्च विवरण समेत दाखिला गरेको पाइएको भन्दै मुख्यमन्त्री कार्कीले बस्नेतलाई स्पष्टीकरण सोधेका हुन । विराटनगर महानगरपालिका वडानम्बर ११ घर भएका बस्नेत २०७९ सालको प्रदेश सभा सदस्य निर्वाचनमा मोरङ क्षेत्रनम्बर ६ (२) बाट नेकपा एमालेको उम्मेदवार समेत थिए ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले बस्नेतलाई २४ असोज २०७८ मा खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए । त्यसपछि राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदले २१ चैत २०७८ मा उनलाई पदमुक्त गरेर हंशराज वाग्लेलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो । मन्त्रिपरिषदको निर्णयविरुद्ध बस्नेतले १४ वैशाख २०७९ मा उच्च अदालत विराटनगरमा रिट दिएका थिए । सोही रिटमा दुई वर्षपछि उच्च अदालतले बस्नेत पुनर्बहाली हुने फैसला गरेको थियो ।