|  

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, एमालेका दुई मन्त्रीले लिए शपथ

२४ वैशाख, काठमाडौं ।  गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले सोमबार नेकपा एमालेबाट थप दुई जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा सीता सुन्दास नियुक्त भएका छन् ।

उनीहरुले शपथसमेत लिइसकेका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् ।

योसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय भएको छ । यसअघि माओवादी केन्द्रका हरिबहादुर चुमान अर्थमन्त्री र स्वतन्त्र सांसद दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।