|  

आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका चार मन्त्रीले लेखे प्रधानमन्त्रीलाई पत्र

२४ बैशाख, काठमाडाैँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा रहेका चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका छन् । 

रास्वपाबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका रवि लामिछानेसहित चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका हुन । 

उपप्रधान तथा गृह मन्त्री लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले छुट्टा छुट्टै पत्र लेखी आफ्नो सम्पत्ति विवरण नेपाली नागरिक र सञ्चारमाध्यमको जानकारीका लागि सार्वजनिक गरिदिन भनेका हुन् । 

देशमा भ्रष्ट्राचार न्यूनीकरण गर्न सदाचार र असल आचरण महत्त्वपूर्ण हुने बताउँदै उनीहरूले त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाए पनि त्यहाँबाट सार्वजनिक नगरिएको जनाएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपाबाट मन्त्री बनेका कसैको पनि सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरेको छैन ।