|  

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२५ बैशाख, काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पहाडी भू-भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक / दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको समेत संभावना रहेको छ।त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक / दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।