|  

एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक भएपछि.....

२५ बैशाख, काठमाडौं । झापाको कमल गाउँपालिकाको एक माध्यमिक विद्यालयमा २ जना निमित्त प्रधानाध्यापक भएपछि प्रशासनिक काम र विद्यार्थी भर्ना अभियान नै प्रभावित भएको पाइएको छ ।

कमल गाउँपालिकाकै ठुलो सामुदायिक विद्यालयहरू मध्येको एकमा पर्ने श्री वाणी माध्यमिक विद्यालयमा २ जना निमित्त प्रधानाध्यापक भएपछि यसका असर विद्यालय भर्ना अभियानमा समेत परेको पाइएको हो । विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिबिच असमञ्जसयताको कारणले गर्दा शिक्षकहरूले निकासा भएको तलब समेत पाउन सकेका छैनन् ।

केही वर्ष अघिसम्म १ हजारभन्दा बढी विद्यार्थी हुने गरेको यस विद्यालयमा अहिले मुस्किलले ३ सय पनि विद्यार्थी नरहेको बताइएको छ ।  पुस मसान्तसम्मको तलब खाएका शिक्षकहरूले त्यसपछि तलब पाएका छैनन् । विद्यालय व्यवस्थापन समितिको निमित्त प्रधानाध्यापक नियुक्तिलाई गाउँपालिकाले सदर नगरेपछि समस्या भएको बताइन्छ ।

प्रधानाध्यापक लक्ष्मीप्रसाद डाँगीले विद्यालयका अर्का शिक्षक तेजनाथ भट्टराई निमित्त दिएर राजीनामा दिएका थिए। वैशाख पहिलो साता विद्यालय व्यवस्थापन समितिले जगन्नाथ फागोलाई निमित्त प्रधानाध्यापक बनाउने निर्णय गरेर गाउँपालिकालाई जानकारी गराए पनि उक्त विषयमा गाउँपालिकाले कुनै प्रतिक्रिया नजनाउँदा २ जना निमित्त प्रधानाध्यापक रहेको शिक्षकहरू बत्ताउँछन् ।