|  

उपेन्द्रलाई प्रधानमन्त्रीले भने- गठबन्धनभित्रै रहेको दल फुट्नु राम्रो होइन, मिलेर जानुस्

२५ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल भएको छ।

मंगलबार बिहान उनीहरूबीच कुराकानी भएको हो। प्रधानमन्त्री दाहालसँग यादवले आफ्नो दल विभाजन हुन पुगेको विषयमा कुरा गरेका थिए। त्यसमा प्रधानमन्त्रीले कुनै पनि दल फुट्नु राम्रो नहुने र सत्ता गठबन्धनभित्रै रहेको दल जसपा नेपाल फुट्नु झन् राम्रो नभएको प्रतिक्रिया दिएका थिए।‘दलहरू फुट्नु राम्रो होइन।

झन् सत्ता गठबन्धनभित्रै रहेको दल जसपा नेपाल फुट्नु राम्रो होइन,’ प्रधानमन्त्रीले भने, ‘कुनै पनि दल फुटाउन जोड गर्न हुन्न। म त मिलेर जानुपर्छ भन्छु । तपाईंहरू पनि मिलेरै जानुस्, आपसमा छलफल गर्नुहोस् ।’ जसपा नेपाल आइतबार विभाजन भएको थियो। अशोक राईसहित ७ जना सांसद मिलेर जनता समाजवादी गठन गरेका थिए। नयाँ दललाई सोमबार निर्वाचन आयोगले मान्यता दिएको छ।