|  

गठबन्धनमा संकट ल्याउन काँग्रेसले सहकारीको मुद्दा उठायोः रास्वपा

२५ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान गठबन्धनमा संकट ल्याउन काँग्रेसले सहकारीको मुद्दा उठाएको टिप्पणी गरेको छ ।

सिंहदरबारमा आज बसेको रास्वपा संसदीय दलको बैठकले यस्तो टिप्पणी गरेको हो । बैठकले अरु कसैको इसारामा संसदलाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थीरता निम्ताउन खोजेको समेत निष्कर्ष निकालेको छ । बैठकपछि सह-प्रवक्ता मनीष झाले विभिन्न मुद्दा लागेका कांग्रेसका सांसदलाई चोख्याएर सदन छिराउने प्रयास गर्ने तर उजुरी नै नपरेको व्यक्तिलाई लखेटिरहने कांग्रेसको कदमले मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने बताए । उनले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नहुनेमा पार्टी प्रष्ट रहेपनि यस विषयमा सत्तापक्षले गर्ने सर्वदलीय निष्कर्षलाई भने स्वीकार गर्न सकिने धारणा व्यक्त गरे । बैठकमा संसदको आगामी अधिवेशनको तयारी र बजेटका विषयमा छलफल भएको उनले जानकारी दिए ।

यसैवीच, पार्टी सभापति रवि लामिछानले पछिल्लो राजनीतिक अवस्थाकाबारे जानकारी गराउँदै कांग्रेसले गठबन्धनमा संकट ल्याउने प्रयास गरेको बताए । उनले देश र जनतालाई केन्द्रमा रहेर पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूले त्यही अनुसारको नीति,कार्यक्रम र बजेटमा ध्यान केन्द्रीत गर्न निर्देशन दिए ।