|  

गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्ने ओलीको माग,काँग्रेसको भने पुरानै अडान

२५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले सहकारीमा भएको अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ ।

आज सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा कांग्रेसले संसदीय समिति गठन हुनुपर्ने पुरानै माग दोहोर्‍याएको हो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले भने छानबिन समिति आवश्यक नभएको बताएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने मत राखेका थिए ।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले सहकारीको समग्र विषयमा संसदीय समिति बनाउने वा भएकै समितिबाट छानबिन गर्न सकिने निर्क्यौल नभएको बताए । उनले भने, ‘गृहमन्त्री लक्षितमात्र रहेर समितिको कुरा गरिरहुनुभएको छ, त्यो सम्भव छैन ।’ आफूमाथि प्रश्न उठेपछि गृहमन्त्रीलाई जवाफ दिन दिनुपर्ने एमाले प्रमुख सचेतक बर्तौलाले भने, ‘पहिला गृहमन्त्रीलाई सुनौं, त्यसपछि के गर्ने भन्ने छलफल गरौंला ।’

यता, काँग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिनको माग राखेकाले आगामी अधिवेशनमा प्रस्तुत हुँदा सरकारले सम्बोधन गर्ने आशा ब्यक्त गरे । समग्रतामा सहकारीमा भएको हिनामिना, ठगी, दुरुपयोगको छानबिन नगरौं भनेर आफूहरुले नभनेको उनले बताए । वैशाख २८  गतेमा संघीय संसदको अधिवेशन सुरु हुँदैछ ।