|  

एउटै कोठामा २ वटा कक्षाका विद्यार्थी पढ्न बाध्य 

२५ वैशाख, काठमाडौं । हुम्लाको एक विद्यालयमा भवन अभाव हुँदा एउटै कोठामा २ वटा कक्षाका विद्यार्थी पढ्न बाध्य भएका छन् ।

सिमकोट गाउँपालिका-१ दोजामस्थित चाङला हिमाल आधारभूत विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म पढाइ हुने गर्छ । भवन र कोठा अभाव हुँदा २ र ३ कक्षाका विद्यार्थी एउटै कोठामा बसेर पढ्नुपर्ने बाध्यतामा छन् । विद्यार्थीले पढाइमा बाधा पुगेको गुनासो गर्ने गरेको विद्यालयका प्रधानाध्यापक राजु लामाले बताएका छन् । उनले भवन अभाव भएपछि पढाइ पनि प्रभावित हुँदै आएको बताए । उनका अनुसार ४ र ५ का विद्यार्थीले पनि एउटै कोठामा बसेर पढिरहेका छन् ।

विद्यालयसँग ६ कोठामात्रै छन । एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकास, एउटामा कक्षा १ का र अर्कोमा कक्षा २, ३ का र बाँकी रहेको एउटा कोठामा ४ र ५ कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गरिँदै आएको छ । कक्षा १ मा ३३ जना, कक्षा दुईमा ४ जना, कक्षा ३ मा ८, कक्षा चारमा ४ तथा पाँचमा ३ विद्यार्थी अध्ययनरत रहेका छन् । बालबिकास कक्षामा ७० विद्यार्थी छन् । विद्यालयका प्रधानध्यापकसहित ४ स्थायी शिक्षक तथा दुई कार्यालय सहयोगी छन् ।