|  

बेलायती राजदुतले दिए नागरिक समाजलाई बेलायतबाट सिक्नुपर्ने सुझाव

२६ बैशाख, काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपालका नागरिक समाजहरु दलहरुसँग आवद्ध हुन नहुनेमा जोड दिएका छन् ।

राजदूत फेनले नेपालका नागरिक समाज ध्रुवीकृत भएको भन्दै नेपाली नागरिक समाजले बेलायतबाट सिक्न सक्ने बताए । उनले नेपालमा रहेको बेलायती राजदूतावास भूराजनीतिको लागि नभएको भन्दै नेपालमा भने भू-राजनीति भएको बताए । नेपालमा छिमेकी देशहरुबाट पर्ने स्वभाविक प्रभावलाई आफूहरुले नकरात्मक नलिने समेत उनले बताए ।

बेलायती र नेपालीको जनस्तरको सम्बन्ध बलियो र प्राङगारिक भएको भन्दै उनले दुई देशका विश्वविद्यालयहरुले थप प्रभावकारी सहकार्य गर्न सक्ने बताए । आफू इण्डोनेसियामा काम गरेर आएको भन्दै इण्डोनेसियामा जस्तै नेपालमा पनि दुई देशका विश्वविद्यालयहरुको सहकार्यमा नेपालीहरुले फाइदा लिन सक्ने बताए । नेपालका बेलायत लगायतका विकास साझेदारहरु गरिबी निवारणबाट लगानी सम्मेलनसम्म आएको भन्दै नेपालले आर्थिक सार्वभौमसत्ता कायम राख्न लगानी सम्मेलनलाई निरन्तरता दिनुपर्ने बताए ।