|  

रविलाई संसदमा बोल्न दिन कांग्रेस तयार !

२६ बैशाख, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने भएको छ । २८ वैशाखबाट सञ्चालन हुने सदनको बजेट अधिवेशनमा रास्वपा सभापति समेत रहेका लामिछानेलाई आफ्नो कुरा राख्न दिन कांग्रेस नेताहरू नरम देखिएका हुन् । 

बैठकमा सहभागी एक पदाधिकारीले दिएको जानकारीअनुसार कांग्रेस लोकतान्त्रिक दल भएकाले कसैको बोल्न पाउने अधिकार कुण्ठित नगर्ने विषयमा छलफल भएको हो । तर, गृहमन्त्री लामिछानेलाई बोल्न दिए पनि संसदीय छानबिन समिति नबनेसम्म संसद् बैठक भने चल्न नदिने अडान लिने कांग्रेसले तयारी गरेको छ । 

“सदनमा बोल्न दिने कुरा भएको छ । तर, बोलेपछि पुनः सदन बैठक चल्न नदिने कांग्रेसको तयारी छ । बैठकमा यही विषयमा छलफल हुँदैछ,” ती नेताले भने, “हामी सभामुखसँग गृहमन्त्रीलाई बोल्न दिने तर, संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने स्पष्ट कुरा राखेर मात्र बोल्न दिन्छौँ ।” 

कांग्रेसले सहकारीको बचत अपचलनमा गृहमन्त्री लामिछानेलाई संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति माग गरिरहेको छ । तर, सत्ता पक्ष गृहमन्त्री लामिछानेलाई केन्द्रमा राखेर बन्ने समिति गठन गर्न तयार छैन ।